बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

IMG-20200630-WA0002
Share on facebook
Share on twitter
Share on pinterest

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट ‘उद्यमशीलता बहस श्रृङ्खला’को २३औँ कार्यक्रम सम्पन्न भएको छ। आजको श्रृङ्खलामा “हिमालयन अल्लो उद्योग” कि सह-संस्थापक माला थापा मगर अतिथिका रुपमा उपस्थित रहेको मिडिया संयोजक साङपु शाक्यले जानकारी दिनुभयो।

“उद्यमशीलताको यात्रामा अवसरको खोजि” विषयमा दिउँसो ३:०० बजे देखि ४:०० बजेसम्म चलेको बहसमा बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्रकी सदस्य स्यारोना श्रेत्री र संयोजक गिता गौतमले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभयो भने अर्की सदस्य आकृती ओझाले ‘जुम’ सफ्टवयरको प्रयोगका तरिकाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो।

सह-संस्थापक माला थापा मगरले कार्यक्रममा करिब २० मिनेट आफ्नो उद्यमशीलताको यात्राको बारेमा बताउनुभएको थियो। उहाँले सन् २००९ मा हिमालयन अल्लो उद्योग नामक व्यवसाय सञ्चालन गर्नुभएको थियो। अल्लो पहाडी भेगमा पाईने एक प्रकारको वनस्पति रहेको र यो उच्च गुणस्तरको कपडा बनाउन प्रयोग गरिने वस्तु भएतापनि उहाँले सर्वप्रथम धागो बनाउने कार्यबाट उद्योग सञ्चालन गर्नुभएको बताउनुभयो। पछिपछि उहाँले व्यवसाय बिस्तार गर्ने क्रममा रङ देखि लिएर कपडा बनाउने कार्यहरु गर्नुभएको थियो।

त्यस्तै गरी उहाँले कोरियाको कम्पनीसंग सम्झौता गरेर सहकार्यको प्रयास गरेतापनि सफल हुन नसकेको कुरा स्मरण गर्नुभयो। नेपालमा प्राकृतिक स्रोतहरु अत्याधिक मात्रामा रहेको हुनाले अल्लो व्यवसाय गरेको बताउँदै उहाँले सबैलाई आफ्नै देशमा व्यवसाय गर्न आग्रह गर्नुभयो। नेपालको विशेषगरी दार्चुला, दैलख, र दोलखा जस्ता जिल्लामा अल्लो प्रशस्त उपलब्ध हुने र त्यसलाई विभिन्न मेसिनको प्रयोग गरेर प्रशोधन गरी विदेशमा निर्यात गरिने हुनाले यसबाट हामीलाई निर्यातमुखी उद्यमी बन्न प्रशस्त अवसरहरु रहेको जानकारी दिनुभयो। त्यस्तै गरी व्यवसाय सञ्चालन गर्दा विभिन्न समस्याहरु उत्पन्न हुने कुरा सामान्य रहेकाले त्यसलाई सहजै ग्रहण गर्न सक्नुपर्ने पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले अल्लोको नेपालमा के-कस्तो सम्भावना रहेको छ? यो नेपालमा कत्तिको उपलब्ध छ र सरकारी निकाय तथा सरोकारवालाहरुले यसको प्रबर्द्वन गर्नका लागि के गरिरहेका छन्? अल्लोबाट बनेका कपडाहरुलाई बजारीकरण गर्नलाई कस्तो समस्या छ? जुटको झोला र अल्लोको झोलामा के-कस्ता फरक छन्? एक सफल उद्यमी हुन के के कुरामा ध्यान दिनु आवश्यक छ? नेपालमा अल्लोका वस्तुहरुलाई कति मुल्य पर्छ र कहाँ किन्न पाइन्छ? जस्ता प्रश्नहरु सोध्नुभएको थियो।

सहभागीका प्रश्नहरुको उत्तर दिँदै उद्यमी माला थापा मगरले अल्लोको नेपालमा धेरै सम्भावना रहेको तर श्रमिकहरुले मिहिनेत गरे अनुसार पारिश्रमिक नपाउदा यस कार्यलाई छोड्दै गएको जानकारी दिनुभयो। यसलाई सरकारले पनि त्यति चासो नदिएको तर यदि सरकारले सबै जिल्लाहरूमा यसको व्यवसाय खोल्ने हो भने राम्रो बजारिकरण हुने बताउनुभयो। नेपालमा धेरैलाई थाहा नभएको र बढी मूल्य पर्ने भएको कारणले नेपालमा खपत हुनभन्दा बढी विदेश र प्राय युरोपमा निर्यात हुने अल्लो जुटसगँ दाज्नै नमिल्ने र यो जुट भन्दा धेरै बलियो हुने कुरा उहाँले स्पष्ट पार्नुभयो। त्यसैगरी अल्लोको व्यवसाय गर्न चाहनेहरूले यसको राम्रोसगँ अध्ययन गरेर मात्र सुरूवात गर्नुपर्ने र आफ्नो कामलाई माया गर्ने र त्यसलाई बढी भन्दा बढी समय दिने हो भने व्यवसायमा अवश्य सफल हुने बताउनुभयो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि करिब ४० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो भने बिआईसी स्टार्टअप्सको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यस्तै गरी कार्यक्रमको अन्त्यमा बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्रकी सदस्य एशिका घलेले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रममा योगदान पुर्‍याउने सबैको प्रशंसा गर्नुभएको थियो।

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावश्यक सिपहरु सिकाउने संस्था हो भने ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशील सोच भएका युवाहरुको संस्था हो। यी तिन संस्थाहरु मिलेर अनलाईनमार्फत ‘उद्यमशिलता बहस श्रृङ्खला’ को आयोजना गर्दै आएका छन्।

Source: https://saurahaonline.com/2020/06/168047/#.XvtsxlXuy5k.facebook

Subscribe to our Newsletter

Share this post with your friends

Share on facebook
Share on google
Share on twitter
Share on linkedin