कोभिड-१९: उद्यमशीलताका अवसरहरुमा प्रभाव

Share This Post

Share on facebook
Share on linkedin
Share on twitter
Share on email

 चितवन: बोस्टन ईन्टरनेशनल कलेज, भरतपुर, अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र बोस्टन कलेजकै ‘उद्यमशीलता र नेतृत्व’ कलबको सहकार्यमा ‘उद्यमशीलता बहस श्रृङ्खला’को नवौँ कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल आईएमई बैँकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुँवर क्षेत्रीसँग गरिएको आजको बहस बिशेष रहेको ईन्क्युवेसन प्रमुख प्रेम गैरेले जानकारी दिनुभयो।

group photo

 “कोभिड-१९: उद्यमशीलताका अवसरहरुमा प्रभाव” विषयमा बेलुकी ५:०० बजे देखि ६:3० बजेसम्म चलेको बहसमा उद्यमशीलता र नेतृत्व कलबका सदस्य राहुल आर्यले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गर्नुभयो भने उक्त कलबकी नेतृ गिता गौतमले ‘जुम’ सफ्टवयरको प्रयोगका तरिकाहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो।

कलबका अन्य सदस्यहरुले पनि टेक्निकल टिममा रहेर विभिन्न भुमिकामा उत्कृष्ट संयोजनको काम गरेको बोस्टनकी ईभेन्ट प्रमुख सबिना सडौलाले जानकारी दिनुभयो। विशेष अतिथिको बारेमा बोल्दै उहाँले भन्नुभयो, “बाणिज्य बैँकहरुमा पुँजीगत रुपमा सबैभन्दा ठुलो बैंक ग्लोबल आईएमई बैँकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर कार्यक्रम गर्नु आँफैमा गर्वको कुरा हो, त्यसैले पनि तयारीमा विशेष ध्यान दिएका छौँ।“

कार्यक्रममा करिब २५ मिनेट सिईओ परशुराम कुँवर क्षेत्रीले आफ्नो प्रस्तुति दिनुभएको थियो। प्रस्तुतिको सुरुवातमा उहाँले नेपालमा कोरोनाको संक्रमण कम हुनु र त्यसमा पनि मृत्युको खबर सुन्न नपर्नु नेपालको लागि एकदमै सुखद पक्ष रहेको बताउनुभयो। त्यस्तैगरी उहाँले हाल विभिन्न देशहरुको अवस्थामा नेपालको स्थान के भन्ने कुरामा चर्चा गर्दै आईएमएफको प्रक्षेपण अनुसार विश्वका केवल ११ देशको आर्थिक बृद्धिदर ऋणात्मक नहुने र त्यसमा नेपाल पनि पर्न सफल रहेको जानकारी दिनुभयो।

नीतिगत कुरामा नेपालले धेरै त्रुटि गरेको जनाउँदै उहाँले भन्नुभयो – “नेपालको गरिबी निवारणको लागि लघुवित्त र विप्रेषणले महत्त्वपूर्ण भुमिका खेल्दै आएकोमा अब वैदेशिक रोजगारी प्रत्यक्ष प्रभावित भएकोले त्यसको सीधा असर विप्रेषणमा पर्नेछ। त्यसैले नेपालले अबको दिनमा चारवटा कुरामा कोरोनाले सिकाएको पाठस्वरुप ध्यान दिनुपर्नेछ। कृषिक्षेत्रमा आत्मनिर्भर हुनुपर्छ, जतिसुकै महंगो भएतापनि जनस्वास्थ्यको अवस्था सुदृढ गर्नुपर्छ, औषधिजन्य उद्योगमा आत्मनिर्भर हुनुपर्छ, र डिजिटल अर्थतन्त्रमा पनि हामी अगाडि बढ्नुपर्छ।“

कृषि क्षेत्रमा बिशेष जोड दिँदै उहाँले नेपाको कृषि क्षेत्रलाई ‘ग्ल्यामरको क्षेत्र’ बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। कृषिलाई नेपालमा हेयभावले हेरिनुको परिणाम कृषि क्षेत्रमा नेपाल दक्षिण एसियालि देशको सुचीमा अन्तिममा परेको जानकारी दिनुभयो। कृषिलाई ग्ल्यामरस् कसरी बनाउन सकिन्छ भन्ने सहभागीको प्रश्नलाई संबोधन गर्दै उहाँले भन्नुभयो, “आधुनिक उपकरण प्रयोग गरेर, यान्त्रिकिकरण गरेर र नवीन शैली अपनाएर सर्ट, पाईन्ट र टाई लगाएर पनि कृषि गर्न सकिने बनाउने हो भने यो क्षेत्रमा आकर्षण बढ्नेछ जस्ले गर्दा हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ।

छिमेकी देश भारतमा सरकारले नै न्युनतम मूल्य तोकेर उक्त मुल्यमा कृषि उजज किनिदिने नीतिगत व्यवस्था गरेको छ, जसले गर्दा त्यहाँ कृषिको अवस्था निकै राम्रो छ। हाम्रो देशले पनि त्यस्तै व्यवस्था गर्नुपर्छ ताकी हामीले आपत्कालीन समयमा खाद्य संकटको सामना गर्न नपरोस्। हामीहरु दैनिक रुपमा खाने अन्न, दाल, गेडागुडी र तरकारीमा आत्मनिर्भर हुनैपर्छ।“

कोभिड-१९ले ल्याएका समस्याहरुमा थुप्रै अवसरहरु लुकेकोले आशावादी हुन पनि सवैमा आग्रह गर्नुभयो। नेपाल विस्तारै डिजिटल अर्थतन्त्र तर्फ उन्मुख रहेको, अनलाईन शिक्षाको लागि तयारी गरिएको, ई-कमर्स क्षेत्रको दायरा फराकिलो हुँदै गएको, आदि कुराहरुले संभावनाका ढोकाहरु खोलिँदै गएको उहाँले जनाउनुभयो।

नेपालको आर्थिक बृद्दिदर घटेर ०.२% मा सिमित हुने प्रक्षेपण छ, महंगीको अवस्था अबको दिनमा के होला भन्ने सहभागिको जिज्ञासामा उहाँले भन्नुभयो, विश्व बजारमा तेलको मुल्यमा गिरावट आउनु, नेपालमा पनि बैँकको ब्याजदरमा गिरावट आउनु, पछिल्लो समय भारतको रुपियाँ डलरको तुलनामा बलियो हुँदै जानु र पेगिङ्को कारणले नेपाली रुँपैयाँ पनि बलियो हुनु, जस्ता कारणले गर्दाखेरी महंगीको दरमा थप बृद्दी हुने संभावना नरहेको प्रस्ट पार्नुभयो।

उद्यमशिलताको अवसरहरुका विषयमा बोल्दै उहाँले भन्नुभयो, “नेपालमा अब कृषिमा र कृषिजन्य उद्योगहरु जस्तै प्याकेजिङ्ग, प्रिजर्भिङ, प्रसोधन आदि गर्ने व्यवसायमा जोड दिनुपर्छ। त्यस्तै हामी ‘लो भोलुम हाई भ्यालु’ हुने खालको उद्यममा लाग्नुपर्छ। उत्तरमा चीन र दक्षिणमा भारत भएकोले हामीले संख्यामा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ, त्यसैले हामीले गुणस्तरमा जोड दिनुपर्छ। जस्तो कि कृषिमा हामीले अर्गानिक खेति गर्नुपर्छ भने उत्पादनमा ‘ह्याण्ड मेड’ कुराहरुमा जोड दिएर अगाडि बढ्नुपर्छ।“

बदलिँदो परिवेशमा विश्वको अर्थतन्त्रको केन्द्र एसिया र अफ्रिका हुने र त्यसमा पनि चीन र भारत उदीयमान हुनु नेपालको लागी फाईदाजनक हुने कुरा पनि उहाँले जानकारी दिनुभयो। छिमेकी देशको आर्थिक वृद्दीको प्रभाव नेपालमा पनि पर्ने हुँदा उहाँले नेपालको अर्थतन्त्र सुदृढ हुने आशा रहेको जनाउनुभयो। त्यसैले नेपालीहरुले अब नेपाललाई नै कर्मभुमी बनाउनुपर्छ भन्ने कुरामा जोड दिनुभयो।

उक्त कार्यक्रममा बोस्टन कलेज लगायत समुदायबाट गरि १०० जनाको प्रत्यक्ष सहभागिता रहेको थियो भने प्रत्यक्ष प्रसारणबाट करिब ३०० जना लाभान्वित भएको बोस्टनका ‘एडमिन अफिसर’, कमल सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमलाई बोस्टन कलेज, स्किल ल्याब र ग्लोबल आईएमईको फेसबुक पेजबाट एकैसाथ लाईभ प्रसारण गरिएको थियो।

बिआईसी स्टार्टअप्स बोस्टन कलेजले उद्यमशीलता प्रबर्धन गर्न स्थापना गरेको छुट्टै विभाग हो। त्यस्तैगरी, ‘स्किल ल्याब’ विद्यमान शिक्षा प्रणालीले दिन नसकेका तर रोजगारको लागि अत्यावस्यक सिपहरु सिकाउने संस्था हो भने ‘उद्यमशीलता र नेतृत्व’ कलब, बोस्टनकै विद्यार्थीहरुबाट संचालित उद्यमशिल सोच भएका युवाहरुको कलब हो। ‘उद्यशिलता बहस श्रृङ्खला’ यी तिनबटा संस्थाको सहकार्यमा आयोजना ़गरिएको नियमित कार्यक्रम हो र आगामी दिनमा पनि यो कार्यक्रम जारी रहने ‘उद्यमशीलता र नेतृत्व’ कलबकी संयोजक गिता गौतमले जानकारी दिनुभयो।

Source: https://saurahaonline.com/2020/05/157653/

Subscribe To Our Newsletter

Get updates and learn from the best

More To Explore

बोष्टन अनलाईन कक्षा : उद्यमशीलताको यात्रामा अवसरको खोजी

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

बोष्टन अनलाईन कक्षा : उदीयमान बजार र मौद्रिक नीति

चितवन: बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआईसी स्टार्टअप्स, काठमाडौँमा अवस्थित ‘स्किल ल्याब’ र ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र’ को सहकार्यमा आज ‘जुम’ सफ्टवयरको माध्यमबाट

Do You Want To Start Your Business?

drop us a line and keep in touch